विदेशबाट आउने अपरिचित नम्बरमा फोन नगर्न दूरसञ्चारको आग्रह

काठमाडौं / विगत केही दिनयता विदेशको अपरिचित नम्बरबाट फोन आउने क्रम बढेकामा त्यस्ता नम्बरमा फोन नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ ।

खासगरी त्यस्ता अपरिचित नम्बरबाट एक घन्टी मात्र फोन आउने र लिङ्कसहितको म्यासेज पनि पठाएको पाइएको प्राधिकरणले जनाएको छ ।

विगतमा पनि यस्ता अपरिचित नम्बरबाट फोन आउने गरेकामा त्यस्ता नम्बरबाट मिस्ड कल आएको देखेमा फोन नगर्न प्राधिकरणले प्रयोगकर्तालाई सुझाव दिएको छ ।

त्यस्तै म्यासेज नपढ्न र त्यहाँ आएका लिङ्क पनि नखोल्न प्राधिकरणले सचेत गराएको छ । प्रयोगकर्ता आफैँले फोन र म्यासेज नगरेसम्म त्यसबाट कुनै हानि नहुने प्राधिकरणले जनाएको छ ।

विगत केही दिनयता खासगरी नेपाली भाइबर प्रयोगकर्ताको नम्बरमा यस्तो एक घन्टीमै रोकिने गरी अपरिचित नम्बरबाट मिस्ड कल आएको पाइएको छ ।

पछिल्ला समय नेपालमा केही कम्पनीका ग्राहकका डेटा बाहिरिएपछि त्यहाँ प्रयोग भएको नम्बरमा यस्तो फोन आएको आशङ्का गरिएको छ ।

प्राधिकरणले त्यसरी बाहिरिएको फोन नम्बर तथा इमेलको दुरुपयोग नगर्न पनि यसअघि सचेत गराइसकेको छ । दुरुपयोग गर्नेलाई कानुनअनुसार कारबाही अगाडि बढाइने पनि प्राधिकरणले स्पष्ट पारेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Loading...
प्रकाशित मिति ३ बैशाख २०७७, बुधबार ०१:५३