काठमाण्डौ ०६ बैशाख / प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लकडाउन’लाई अझै कडाइ गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर लकडाउनलाई अझै कडाइ गर्न निर्देशन दिनुभएको हो ।
उहाँले जोखिम बढ्दै गएकाले हिँडेरै गाउँघर जान लागेकालाई त्यहीँ रोकेर खानेबस्ने व्यवस्था मिलाउन तथा यस्तो महामारीको बेला उदारता नदेखाउन पनि निर्देशन दिनुभएको छ । बैठकमा मन्त्रीसहित सुरक्षा निकायका सबै प्रमुखहरुको सहभागित थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा कोरोना भाइरस सङ्क्रमणविरूद्द जारी लकडाउन र यसको कार्यान्वयनका बारेमा एकीकृत छलफल र समीक्षा भएको जानकारी दिनुभयो ।
त्यस्तै सरकारले एकै दिन आज नेपालमा १४ जना कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि गरेको छ ।
‘आज एकै दिन १४ जना थपिए, जसमा उदयपुरका १२ र चितवनका दुई जना छन्’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।
‘स्वास्थ्य मन्त्रालयको कोभिड १९ वेव पेजमा पनि यो सूचना तपाईहरुले केही बेरमा पाउनु हुने छ नै’ ति अधिकारीको भनाइ थियो‘ थपिनेमा केही भारतीय नागरिक पनि छन् ।
उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्के मस्जिदमा लुकेर बसेका १२ जनामा र चितवनमा आमा छोरामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
चितवनको राप्ती नगरपालिकाका आमा छोरामा आज विहान गरिएको ¥यापिड टेष्टमा संक्रमणको पुष्टि भएपछि आज साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर टेष्ट पोजिटिभ पाइएको हो ।
यस्तै उदयपुरको भुल्केस्थित मस्जिदका १२ जनामा गत मंगलबार गरिएको परीक्षण पोजिटिभ पाइएपछि आज विराटनगर हुँदै पुनः काठमाडौंमा गरिएको परीक्षणबाट पनि पुष्टि भएको हो ।
योसंगै नेपालमा अब कोरोना संक्रमितको संख्या ३० पुगेको छ । जसमा एक जना स्वस्थ्य भएर घर फर्किसकेका छन् ।