अर्को खुशी, कोरोना संक्रमित युवक निको भएर घर फर्किदै

कैलाली । कोरोना संक्रमित कैलाली लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका २१ वर्षीय राज विक डिस्चार्ज हुने भएका छन् ।

चैत २२ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएका उनको शनिबार पुन दुई पटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । कोरोना संक्रमण नदेखिएपछि उनलाई डिस्चार्ज गर्न लागिएको चिकित्सकले जनाएका छन् । उनलाई भोलीसम्ममा डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

विक गत चैत ११ गते भारतको मुम्बईबाट घर फर्किएका थिए । घर फर्किएका उनी १४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसनमा बसेका थिए ।

त्यस्तै कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ । जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास आवश्यक नपर्ने भएको हो । सवारी पास नभए पनि केही शर्तको पालना भने गर्नुपर्ने छ ।

जिप्रकाले शनिबार जारी गरेको सार्वजनिक सूचनाअनुसार विवाह हुने स्थानीय तहको सिफारिस बोक्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्ने, प्रहरीसँग समन्वय गर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्ने, कमभन्दा कम व्यक्ति लिएर विवाह सम्पन्न गर्नुपर्ने छ । विवाहमा सहभागी हुने दुवैतर्फका जन्तीले सामाजिक दूरी कायम गर्नुपर्ने र कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी सावधानी अपनाउनुपर्ने छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययका अनुसार हालसम्म सवारी साधनको इ–पासका लागि ५५८ जनाले निवेदन दिएकामा बिरामी र सुत्केरी बोक्ने ४८ सवारी साधनलाई पास उपलब्ध गराइएको छ । अस्वीकृत गरी जानकारी पठाइएका निवेदन ४७१ वटा रहेका छन् । विचाराधीन अवस्थमा रहेका निवेदनको सङ्ख्या २९ रहेको छ । जिल्ला प्रशासन कार्यालयमा आएका ६१ गुनासोको सुनवाइ गरी समस्या समाधान गरिएको छ ।

Loading...
प्रकाशित मिति ७ बैशाख २०७७, आईतवार ११:१४